एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा आर्सनलले ब्राइटनसंग १ - १ गोलको बराबरी खेलेको हो ।
बक्सिङ डे को दिन सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाड्नु परेको हो । खेलको सातौं मिनेटमा पेरिक एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर , खेलको ३५ औं मिनेटमा ब्राइटनका जोर्गेन लोकाडीयाले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
यो बराबरीसंगै आर्सनलले लिगको शीर्ष चार टोलीसंग अंक दुरी कम गर्ने मौका गुमाएको छ । पाँचौ स्थानको आर्सनलले ३८ अंक जोडेको छ । २२ अंक जोडेको ब्राइटन १३ औं स्थानमा रहेको छ ।