काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा ७ गोल निस्किएको खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाईटेडलाई हराएको छ ।
समूह एको खेलमा जर्मन महारथी क्लब बायर्नले युनाईटेडमाथि ४–३ को शानदार जित निकालेको हो ।
बायर्नको जितमा केन प्रभावशाली रहे । उनले एक गोल गर्नुका साथै अर्को गोलको अवसर समेत सिर्जना गरे ।
केन अनुबन्धनका लागि समरमा बायर्न र युनाईटेड दुवैले कोशिश गरेका थिए । अन्तिममा केन बायर्न लागे । तिनै केन निर्णायक बनेको खेलमा बायर्नले युनाईटेडलाई हराउन सफल रह्यो । केनले यस सिजन सबै प्रतियोगिता गरि ५ खेलमा ५ गोल गरेका छन् ।
रासमस होजलेन्डले युनाईटेडको जर्सीमा पहिलो गोल गर्दै दोस्रो हाफमा टिमलाई खेलमा फर्काउने कोशिश गरेका थिए । मार्कोस रासफोर्डको पासलाई सदुपयोग गर्दै होजलेन्डले युनाईटेडका लागि पहिलो गोल गरेका थिए । तर ५३ औं मिनेटमा पेनाल्टीमार्फत केनले गोल गर्दै बायर्नलाई ३–१ को अवस्थामा पुर्याए ।
उनै केनको पासमा लिरो सानेले २८ औं मिनेटमा घरेलु टोली बायर्नलाई अग्रता दिलाएका थिए भने ग्याब्रीले ३२ औं मिनेटमा बायर्नको अग्रतालाई दोब्बर बनाउने काम गरे । खेल सकिन दुई मिनेट अघि मार्टियलको पासमा क्यासमिरोले गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्याएका थिए ।
मेथिस तेलले इन्जुरी समयको दोस्रो मिनेटमा बायर्नलाई ४–२ को स्थितीमा पुर्याए । इन्जुरी समयमा पाँचौं मिनेटमा युनाईटेडका क्यासमिरोले ब्यक्तिगत दोस्रो गोल गरेपनि टोलीको हार टार्न भने सकेनन् ।
सोही समूहको अर्को खेलमा गलातासारे र एफसी कोपनहेगनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूहमा बायर्नले ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोपनहेगन र गलातासारेले समान १ अंक जोडेका छन् । युनाईटेड अंक विहीन हुदै तालिकाको पुछारमा छ ।