बर्नेमाउथविरुद्ध एकतर्फी जित निकालेको टोटेनहमले एरिक्सनको गोलबाट १६ औं मिनेटमा अग्रता बनाएको थियो । २३ औं मिनेटमा सनले गोल गर्दा टोटेनहम २ - ० ले अघि रह्यो । खेलको ३५ औं मिनेटमा मौराले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ३ - ० को अग्रता दिलाए ।
दोस्रो हाफमा टोटेनहमले थप दुई गोल गर्यो । खेलको ६१ औं मिनेटमा केनले गोल गर्दा घरेलु टोली ४ - ० ले अघि रह्यो । त्यसपछि खेलको ७० औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ५ - ० को फराकिलो जित दिलाए ।
जितसंगै टोटेनहमले म्यानचेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको हो । जितपछि टोटेनहमले १९ खेलबाट ४५ अंक जोडेको छ ।
टोटेनहम शीर्ष स्थानको लिभरपुल भन्दा ६ अंकले पछि छ । लिभरपुलको ५१ अंक छ । तेस्रो स्थानको सिटीको भने ४४ अंक छ । सिटी बुधबार नै भएको खेलमा लेष्टरसंग पराजित भएको थियो ।