काठमाडौं । इन्स्पायर नोबल फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।
एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई प्रति खेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चमा कार्यक्रमको आयोजना गरेर फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गर्यो ।
भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए ।
कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयालको उपस्थिती थियो ।
फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।
इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो ।
पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिएका थिए ।