एजेन्सी । इंग्लिश प्रिमियर लिगको आधा सिजन सकिदा लिभरपुल शीर्ष स्थानमा रहेको छ । प्रिमियर लिगमा लिभरपुल अपराजित रहने एक्लो टोली हो ।
यस पटक लिभरपुललाई प्रिमियर लिगको उपाधि दाबेदार मानिएको छ । लामो समयबाट लिगको उपाधि जित्न नसकेको लिभरपुल र जोर्गेंन क्लोपलाई यस सिजन उपाधि जित्ने सुनौलो अवसर छ ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ४ अंकले अघि छ । र, क्रिसमस सकिएसंगै बक्सिङ डे को दिन लिभरपुलले न्युकासलसंग प्रतिस्पर्धा गर्दैछ ।
न्युकासलविरुद्ध जित निकाल्दै लिभरपुल आफ्नो अग्रता कायम गर्ने लक्ष्यमा हुनेछ । लिभरपुललाई ३ अंक जोड्न न्युकासलविरुद्धको खेल समेत महत्वपूर्ण हुनेछ ।
न्युकासललाई पराजित गरेमा सिटीले अर्को खेलमा जित निकालेपनि लिभरपुललाई स्पस्ट ४ अंकको अग्रता हुनेछ । त्यसैले न्युकासलविरुद्ध लिभरपुललाई केहि दबाब हुनेछ ।
तर, प्रशिक्षक क्लोपले न्युकासलविरुद्धको खेलअघि टिमको अग्रता ४ अंक रहेको कारण टिमलाई दबाब नभएको बताए ।
'मैले साँच्चै आराम महसुस गरेको छु । हामीलाई कुनै अतिरिक्त दबाब छैन । किनकी हामी ४ अंकले अघि छौं,' न्युकासलसंगको खेलअघि क्लोपले भने ।
यस्तै क्लोपले टिमले ४ अंकको अग्रता बनाएपनि टिमले अहिले नै उत्सव मनाई हाल्नु नपर्ने अवस्था नरहेको बताए । तर,उनले जारी सिजन टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको बताए ।
'पक्कै पनि हामीले यस सिजन निकै उत्कृष्ट खेलिरहेका छौं । गत सिजन भन्दा धेरै राम्रो गरिरहेका छौ,' क्लोपले थपे, 'यति हो अरु केहि छैन् ।'