एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आज (बुधबार) विभिन्न ९ खेल संचालन हुँदैछ ।
बुधबार शीर्ष स्थानका लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, आर्सनल, म्यानचेस्टर युनाइटेड लगायतका शीर्ष क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
क्रिसमस सकिएको भोलिपल्ट बक्सिङ डेको दिन शीर्ष स्थानको लिभरपुलले न्युकासल युनाइटेडसंग घरेलु मैदानमा खेल्दैछ । लिभरपुल र न्युकासलबीचको खेल नेपाली समय अनुसार राति ८:४५ मा सुरु हुनेछ ।
न्युकासलविरुद्ध मैदान उत्रदा लिभरपुललाई शीर्ष स्थानको अग्रता कायम राख्ने अवसर हुनेछ । न्युकासललाई हराए लिभरपुलले आफ्नो ४ अंकको अग्रता यथावत राख्नेछ । लिभरपुलको ४८ अंक छ । न्युकासल १७ अंक जोडेर १५ औं स्थानमा छ ।
यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीले लेष्टर सिटीसंग खेल्दैछ । लेष्टरको मैदानमा हुने खेल राति ८:४५ मा सुरु हुनेछ ।
सिटी लेष्टरलाई हराएर शीर्ष स्थानको लिभरपुलसंग अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ । सिटी लिभरपुल भन्दा ४ अंकले पछि छ । यता, लेष्टर सिटीलाई रोक्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । लिगमा सिटीको ४४ अंक छ । नवौं स्थानमा रहेको लेष्टरको २५ अंक छ ।
बक्सिङ डेको दिन चेल्सीले वाट्फोर्डसंग उसैको मैदानमा खेल्दैछ । चेल्सी र वाट्फोर्डबीचको खेल राति १:१५ मा सुरु हुनेछ । वाट्फोर्डलाई हराएमा चेल्सीले शीर्ष तीन क्लबसंगको अंक दुरी कम गर्नेछ । चौथो स्थानको चेल्सीको ३७ अंक छ ।
लिगको तेस्रो स्थानमा रहेको टोटेनहमले राति ८:४५ मा बर्नेमाउथसंग वेम्बली स्टेडियममा खेल्नेछ । ४२ अंक जोडेको टोटेनहम जित निकाल्दै लिभरपुल र म्यानचेस्टर सिटीविरुद्ध दबाब बढाउँन चाहन्छ ।
आर्सनलले ब्राइटनसंग प्रतिस्पर्धा गर्नेछ । ब्राइटनको मैदानमा हुने खेल राति ११ बजे सुरु हुनेछ । पाँचौ स्थानको आर्सनल ब्राइटनलाई हराएर चौथो स्थानमा उक्लन चाहन्छ ।
प्रशिक्षक ओले गुनर सोल्सायरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनसंग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । जुन खेल सोल्सायरको दोस्रो खेल हुनेछ ।
हडर्सफिल्डविरुद्ध युनाइटेड जित निकाल्दै लिगको शीर्ष पाँच टोलीसंग अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ । लिगको छैटौं स्थानमा रहेको युनाइटेडको २९ अंक छ । युनाइटेड आफ्नो खराब लयलाई सुधार गर्न चाहन्छ ।
यस्तै अन्य खेलमा फुलहमले वुल्भ्स, बर्नलीले एभर्टन र क्रिस्टल प्यालेसले कार्डिफ सिटीसंग प्रतिस्पर्धा गर्नेछन् ।