धनगढी । सहारा युवा क्लब पहलमानपुर, सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरीया क्लब फारवेष्ट पशुपति कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
धनगढी रंगशालामा मंगलबार भएको पहिलो खेलमा सहाराले हेटौंडा फुटबल एकेडेमीलाई ५–० को फराकिलो अन्तरले हराएर क्वाटरफाइनलमा स्थान बनायो । सहाराका लागि मोहन थापाले दुई तथा ईन्टोट बाफोर, साहि विष्ट र गणेश बडुवालले एक एक गोल गरे ।
यस्तै सुदुरपश्चिम– ११ ले वाक ओभर पाएर क्वाटरफाईनल स्थान बनायो । भारतको उत्तराखण्डको टोली अनुपस्थित भएपछि सुदुरपश्चिम ११ अन्तिम आठमा पुगेको हो ।
मंगलबार नै भएको अन्तिम खेलमा पिएफए अत्तरीयाले दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीलाई १–० ले पराजित गर्यो । पिएफएका लागि नरेन्द्र साउँदले निर्णायक गोल गरे ।
प्रतियोगिताको विजेताले नगद चार र उपविजेताले नगद दुई लाख पाउनेछन् । उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिता धनगढी रंगशालामा पुस १४ गतेसम्म सञ्चालन हुने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए।