काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक सुमन श्रेष्ठले कीर्तिमानी जितसहित पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि जित्ने बताएका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै लिगमा दशौं जित निकालेपछि प्रशिक्षक श्रेष्ठले सबै खेल जितेर कीर्तिमानसहित उपाधि जित्ने बताएका हुन् ।
'म मेरा खेलाडीलाई विश्वास गर्छु । खेलाडीहरुले मनबाट खेलिरहेका छन्,' प्रशिक्षक श्रेष्ठले पोष्ट म्याच कन्फरेन्समा भने, ' खेलाडीकै कारण यहाँसम्म आएका छौं । कीर्तिमान बनाउने चाहना छ । खेलाडी, अफिसियल सबै उपाधि जित्ने मात्र हैन सबै खेल जितेर कीर्तिमान बनाउन चाहन्छन् ।'
उपाधि होड बलियो बनाउने क्रममा मनाङले पुलिसलाई १ - ० गोल अन्तरले पराजित गरेको थियो । मनाङको पराजित यात्रामा विदेशी खेलाडी आडेलाजा सोमिडेले ५३ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
प्रशिक्षक श्रेष्ठले पुलिसविरुद्ध सहज जितको लक्ष्य भएपनि जित निकाल्न कठिन भएको बताए ।
'खेल निकै कठिन भयो । सोचे जस्तो सहज भएन् । खेलाडीहरु फिट छैनन् । केहि खेलाडी ज्वरोले ग्रस्त छन्,' प्रशिक्षक श्रेष्ठले थपे,' तर, तीन लिन सफल भयौ ।'
अब मनाङले ११ औं चरणमा संकटा क्लब र १२ औं चरणमा हिमालयन शेर्पा क्लबसंग खेल्दै छन् ।
लिगको तीन खेल बाँकी रहदा मनाङले १० खेलबाट अपराजित रहदै ३० अंक जोडेको छ ।
शीर्ष स्थानको मनाङ दोस्रो स्थानको संकटा फुटबल क्लबभन्दा ५ अंकले अघि छ । संकटाको १० खेलबाट २५ अंक छ ।
अब मनाङले संकटाविरुद्धको खेल जित उपाधि आफ्नो बनाउनेछ । मनाङ र संकटाबीचको खेल पुस १२ गते हुनेछ ।
यस्तै मनाङसंग पराजित भएपछि पुलिसका प्रशिक्षक अनन्त राज थापाले खेलाडीले प्रेसर लिएर खेल्दा हार व्यहोरेको बताए । उनले खेलाडीले माइन्ड गेम खेल्न आवश्यक रहेको र बाँकी लिगमा कमीकमजोरी सुधार गर्ने बताए ।