एजेन्सी । साबिकको विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा फ्रान्कफर्टलाई ३ - ० ले पराजित गर्दै वायर्न लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
फ्रान्कफर्टको घरेलु मैदानमा भएको खेलमा वायर्नका लागि फ्रान्क रिबेरीले दुई गोल गरे । यस्तै राफिन्हाले एक गोल गरे । घरेलु टोलीविरुद्ध वायर्नले खेलको ३५ औं मिनेटमा रिबेरीको गोलबाट अग्रता बनाएको थियो ।
खेलको ७९ औं मिनेटमा रिबेरीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा राफिन्हाले गोल गर्दै वायर्नलाई ३ - ० को अग्रता दिलाए ।
यो जितसंगै वायर्नले शीर्ष स्थानको बोरुसिया डर्टमण्डविरुद्ध अंक दुरी घटाउन सफल भएको छ । जितसंगै वायर्नले ३६ अंक जोडेको छ । र, वायर्न डर्टमण्डभन्दा ६ अंकले पछि छ । डर्टमण्डको ४२ अंक छ ।