एजेन्सी । केयरटेकर प्रशिक्षक ओले गुनर सोल्सायरको डेब्यु प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ । सोल्सायरले सम्हालेको पहिलो खेलमा युनाइटेडले शनिबार राति कार्डिफ सिटीलाई ५ - १ गोल अन्तरले पराजित गरेको हो ।
यस सिजन खराब प्रदर्शन कायम राखेपछि युनाइटेडले जोसे मौरिन्होलाई बर्खास्त गर्दै सोल्सायरलाई टिमको जिम्मेवारी दिएको थियो । र, युनाइटेडमा सोल्सायरले सुखद सुरुवात गरेको छ ।
कार्डिफको मैदानमा युनाइटेडको जितमा जेसे लिन्गार्डले दुई गोल गरे । यस्तै मार्कुस राष्फोर्ड, एण्डर हरेरा र एन्थोनी मार्सियलले एक एक गोल गरे । कार्डिफका भिक्टर कामारासाले एक गोल फर्काए ।
युनाइटेडले कार्डिफविरुद्ध खेलको तेस्रो मिनेटमै राष्फोर्डको गोलबाट अग्रता बनाएको थियो । २९ औं मिनेटमा हरेराले गोल गर्दै युनाइटेडको अग्रता २ - ० को बनाए ।
३८ औं मिनेटमा कार्डिफका भिक्टरले गोल गर्दै खेल २ - १ को स्थितिमा ल्याए । खेलको ४१ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ३ - १ को अग्रता दिलाए ।
दोस्रो हाफमा लिन्गार्ड चम्किए । खेलको ५७ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता ४ - १ को बनाए । त्यसपछि खेलको ९० औं मिनेटमा लिन्गार्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ५ - १ को फराकिलो जित दिलाए ।
जितसंगै युनाइटेडले १८ खेलबाट २९ अंक जोडेको छ । र, लिगको छैटौं स्थानमा छ । कार्डिफ १४ अंक जोडेर १७ औं स्थानमा छ ।