काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा संकटा युथ क्लबले ब्रिगेड ब्वाईज क्लबसंग १–१ गोलको बराबरी खेलेको छ । एपीएफको हलचोक मैदानमा लिगको दशौँ चरणको खेलमा संकटाले ब्रिगेडसंग बराबरी खेल्दै अंक बाँडेको छ ।
बराबरीको नतिजाले संकटाको उपाधि यात्रामा गम्भिर धक्का लागेको छ । कमजोर मानिएको ब्रिगेडविरुद्व जित निकाल्दै शीर्ष स्थानको मनाङसंग अंक बराबरी गर्ने अवसर संकटालाई प्राप्त थियो ।
सूरुवाती अग्रतालाई जोगाउन नसक्दा संकटाले बराबरी खेल्न बाध्य भयो । खेलको १३ औ मिनेटमा संकटाले अमित तामाङको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । संकटाका विदेशी खेलाडी म्याक्सवेललाई ब्रिगेडका रन्दिप पौडेलले डिबक्स भित्र लडाँएपछि प्राप्त पेनाल्टीमा अमित गोल गर्न सफल भएका थिए ।
२८ औ मिनेटमा ब्रिगेडले बराबरी गोल फर्कायो । संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा जय गुरुङकाे शक्तिशाली प्रहारले जाली चुमेकाे थियाे ।
खेलको ४१ औ मिनेटमा बिग्रेडका अब्दु करिमको हेड बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
५७ औ मिनेटमा अमित तामाङको क्रसमा म्याक्सवेलको हेड बल बिग्रेडका किपर सागर रायले पन्च गरेर फर्काएका थिए । सोही बलमा सेड्रिक अबाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
तुलनात्मक रुपमा राम्रो प्रर्दशन गरेको ब्रिगेडले बराबरी नतिजा निकाल्दै संकटाको उपाधि यात्रा कठिन बनाईदिएको छ ।
दोस्रो स्थानको संकटाले १० खेलबाट २५ अंक जोडेको छ । संकटा, एक खेल कम खेलेको शीर्ष स्थानको मनाङ भन्दा २ अंकले पछाडी परेको छ । समान खेलबाट बिग्रेडले ६ अंक जोडेको छ ।