एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न क्लबको आठ खेलहरु संचालन हुँदैछ । प्रिमियर लिगमा शनिबार साविकको विजेता म्यानचेस्टर सिटी, आर्सनल, चेल्सी र म्यानचेस्टर युनाइटेड लगायतका ठुला क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
उपाधि होडमा रहेको सिटीले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्नेछ । सिटी क्रिस्टलबीचको खेल राति नेपाली समय अनुसार राति ८:४५ मा सुरु हुनेछ ।
क्रिस्टलविरुद्ध मैदान उत्रदा सिटी सहज जितसहित शीर्ष स्थानको लिभरपुलविरुद्ध अंक दुरी घटाउने योजनामा हुनेछ । दोस्रो स्थानको सिटी १७ खेलबाट ४४ अंक जोडेर दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको लिभरपुल सिटी भन्दा ४ अंकले अघि छ ।
यस्तै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले कार्डिफ सिटीसंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । कार्डिफ र युनाइटेडबीचको खेल राति ११:१५ मा सुरु हुनेछ ।
प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गर्दै ओले गुनर सोल्सायरलाई केयरटेकर प्रशिक्षक बनाएपछि युनाइटेडले पहिलो खेल कार्डिफसंग खेल्न लागेको हो ।
कार्डिफविरुद्ध मैदान उत्रदा सोल्सायरलाई युनाइटेडको गुमेको लय सुधार्ने अवसर छ । त्यसैले युनाइटेड महत्वपूर्ण ३ अंकको लागि खेल्नेछ । युनाइटेड २६ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।
यस्तै आर्सनलले बर्नलीसंग उसैको मैदानमा खेल्नेछ । आर्सनल र बर्नलीबीचको खेल बेलुका ६ : १५ मा सुरु हुनेछ । ३४ अंक जोडेर लिगको पाँचौ स्थानमा रहेको आर्सनल जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
लिगको चौथो स्थानमा रहेको चेल्सीले लेष्टर सिटीविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । चेल्सी र लेष्टरबीचको खेल ८: ४५ मा सुरु हुनेछ ।
लेष्टरसंग प्रतिस्पर्धा गर्न मैदान उत्रदा चेल्सी जितसहित शीर्ष तीनमा पुग्ने लक्ष्यमा हुनेछ । चौथो स्थानको चेल्सीले १७ खेलबाट ३७ अंक जोडेको छ ।
यस्तै अन्य खेलमा बर्नेमाउथले ब्राइटनसंग, हडर्सफिल्डले साउथह्याम्पटनसंग, न्युकासलले फुलहम तथा वेष्ट ह्यामले वाट्फोर्डसंग प्रतिस्पर्धा गर्नेछ ।