काठमाडौं । राष्ट्रिय फुटबल टिमका पुर्व स्ट्राईकर सन्तोष शाहुखल जापान फर्किएका छन् । ए डिभिजन लिग खेल्न गत महिना नेपाल आएका सन्तोष लिगका चार खेल बाँकी छँदै जापान फर्किएका हुन् ।
घरेलु फुटबलका गतिविधि बन्द हुदाँ नेपाली फुटबलका सफल स्ट्राईकर सन्तोष जापान गएका थिए । पाँच बर्षपछि ए डिभिजन लिग सुरु हुने भएपछि उनलाई ललितपुरको च्यासल युथ क्लबले लिग खेल्न नेपाल बोलाएको थियो ।
स्टार खेलाडी अनुबन्धन गरेर नतिजा निकाल्न नसकेको च्यासल उत्कृष्ट पाँच भित्र पर्न समेत संघर्ष गरिरहेको छ । लिगको दौरान मुख्य स्ट्राईकर विमल घर्तिमगर प्रशिक्षणका लागि भन्दै युरोप लागेका थिए । लिगमा चार खेल बाँकी रहदाँ अर्का स्ट्राईकर सन्तोष समेत जापान फर्किएका छन् ।
च्यासल टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले पारिवारिक कारणले सन्तोष जापान फर्किएको बताए । ‘उसले छोटो समयको छुट्टी लिएर नेपाल आएको रहेछ । समयको बिषयमा असझदारी भयो । प्रक्रिया मिलाउन खोजेको भएपनि असफल भयो ।’ उनले खेलपाटीसंग भने ।
सहिद स्मारक लिगमा उनले यस सिजन ३ गोल गर्न सफल भएका थिए । च्यासलले लिगको दशौँ चरणको खेलमा भोली (शनिबार) थ्री स्टार क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।