एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज राति शीर्ष स्थानको लिभरपुलले वुल्भ्ससंग प्रतिस्पर्धा गर्दैछ । १७ औ चरणको खेलको समाप्तिमा शीर्ष स्थानमा रहन सफल लिभरपुललाई अंक तालिकामा अग्रता लिने अवसर छ ।
वुल्भ्सका विङ्गर डिओगो जोटाले चोटका कारण आजको खेल गुमाउनेछन् । प्रशिक्षक नुनो एस्पिरिटो स्यान्टोलाई अरु खेलाडीको चोटको चिन्ता हुने छैन । लिभरपुलका डिफेन्डर ट्रेन्ड अलेक्जेन्डर अर्लान्डोले चोटका कारण वुल्भ्सविरुद्वको खेल गुमाउनेछन् । जेम्न मिल्नर आजको खेलमा उपलब्ध हुन सक्नेछन् ।
वुल्भ्सका प्रशिक्षक स्यान्टोले लिभरपुलविरुद्वको खेलका लागि तयार रहेको बताए । ‘हामीलाई खुसी लाग्छ, हामीले खराब समय पार गरेका छौ । यसको श्रेय खेलाडीलाई जान्छ ।’ उनले भने ।
‘लिभरपुल लिगको शीर्ष स्थानमा छ । हामी युरोपको उत्कृष्ट टिमसंग लड्न गईरहेका छौ । हामी अगाडी बढ्न चाहन्छौ ।’ उनले थपे ।
लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले वल्भ्सको टिमको प्रशंसा गरे । ‘उनीहरुले गत बर्ष च्याम्पियनसिपमा जसरी खेले, अक्सर फेरी त्यो दोहरिनेछ ।’ उनले भने, ‘जसरी पछिल्लो बर्ष उनीहरुले खेलिरहेका छन् । त्यो साच्चिकै अद्भुत छ ।’
लिभरपुल १७ खेलबाट ४५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । वुल्भ्स २५ अंक सहित सातौ स्थानमा छ ।