काठमाडौं । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ ३० गतदेखि हुने भएको छ ।
चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका ३ सहित १६ पुरुष टिमको सहभागिता रहने चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहको प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । चार विधागत उत्कृष्टतर्फक खेलाडी, गोलरक्षक, डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
नकआउट पद्धतिमा हुने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ । पहिलो संस्करणको उपाधि ढोलाहिटी एफसीले जितेको थियो । फाइनल असार ४ गते हुनेछ ।