एजेन्सी । साबिकको विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा वायर्नले आरबी लिपजिगलाई १ - ० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानम भएको खेलमा वायर्नलाई जित दिलाउन फ्रान्क रिबेरीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८३ औं मिनेटमा रिबेरीले गोल गर्दै वायर्नलाई महत्वपूर्ण ३ अंक दिलाए ।
यस्तै खेलको अन्तिम केहि मिनेट दुवै टोली १० खेलाडीमा समेटिएको थियो । खेलको ९० औं मिनेटमा लेपजिगका स्टेफान इल्सनाकरले रातो कार्ड पाएका थिए । त्यसको एक मिनेट नबित्दै रेनेटो सान्चेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा वायर्न पनि १० खेलाडीमा समेटिएको थियो ।
लेपजिगविरुद्धको जितसंगै वायर्नले शीर्ष स्थानको बोरुसिया डर्टमण्डसंगको अंक दुरी घटाउन सफल भएको छ । तेस्रो स्थानको वायर्नले १६ खेलबाट ३३ अंक जोडेको छ । वायर्न डर्टमण्डभन्दा ६ अंकले पछि छ । डर्टमण्डको ३९ अंक छ ।
यस्तै वायर्नले दोस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडवाचसंग अंक बराबरी गरेको छ । २८ अंक जोडेको लेपजिग चौथो स्थानमा छ ।