एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा जापानिज क्लब काशीमा एन्टलर्सलाई ३ - १ गोल अन्तरले पराजित गर्दै रियल उपाधि नजिक पुगेको हो ।
युएईको अबुधाबीस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा ग्यारेथ बेलले ह्याट्रिक गरेपछि रियलले फाइनलमा स्थान पक्का गरेको हो । काशीमाका शोमा डोईले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।
एसियन च्याम्पियन जापानिज क्लबविरुद्ध युरोपियन च्याम्पियन रियलले खेलको ४४ औं मिनेटमा बेलको गोलबाट अग्रता बनाएको थियो । खेलको ५३ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २ - ० को अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा बेलले ह्याट्रिक पुरा गर्दा रियल ३ - ० ले अघि रह्यो । त्यसपछि खेलको ७८ औं मिनेटमा काशीमाका डोईले एक गोल फर्काएपनि रियलले ३ - १ को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो ।
अब रियलले उपाधिका लागि युएईको क्लब अल इन फुटबल क्लबसंग खेल्नेछ । अल इनले साउथ अमेरिकन च्याम्पियन रिभर प्लेटलाई पेनाल्टी सुटआउटमा ५ - ४ गोल अन्तरले हराएर फाइनलमा पुगिसकेको छ ।
फाइनल खेल शनिबार हुनेछ । अल इनलाई पराजित गरे रियलले लगातार तेस्रो पटक क्लब विश्वकप जित्नेछ ।