एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले पूर्व फरवार्ड तथा नर्वेजीयन प्रशिक्षक ओले गुनर सोल्सायरलाई अन्तरिम प्रशिक्षको जिम्मेवारी दिने तयारी गरेको छ ।
प्रिमियर लिगमा यस सिजन खराब प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गरेपछि युनाइटेडले सोल्सायरलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिने तयारी हो । युनाइटेडले मंगलबार मौरिन्होलाई हटाएको थियो ।
युनाइटेडले सोल्सायरलाई औपचरिक रुपमा अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छैन । तर, अन्तर्राष्ट्रिय समचार संस्थाहरुले सोल्सायरलाई ल्याउने तयारी गरेको जनाएको छ ।
युनाइटेडले मंगलबार नै आफ्नो अफिसियल वेबसाइडमा सोल्सायरले च्याम्पियन्स लिगमा गरेको गोलको भिडियो पोष्ट गर्दै अन्तरिम प्रशिक्षक नियुक्त गरिएको जनाएको थियो । सन् १९९९ को च्याम्पियन्स लिगको फाइनलमा वायर्न म्युनिखविरुद्ध सोल्सायरले निर्णायक गोल गरेका थिए । तर, उक्त पोष्ट युनाइटेडले केहि समयपछि हटाएको थियो ।
प्रशिक्षक सोल्सायरले कार्डिफ सिटी र नर्वेजीयन क्लब मोल्डे क्लबलाई प्रशिक्षण गराएको अनुभव रहेको छ ।
४५ बर्षीय सोल्सायरले युनाइटेडबाट ११ सिजन खेलेका थिए । सर एलेक्स फोर्गुसनको पालामा सोल्सायरले युनाइटेडबाट १२६ गोल गरेका थिए । नर्वेबाट ६७ खेलमा २३ गोल गरेका सोल्सायरले सन् २००७ बाट सन्यास लिएका थिए ।