एजेन्सी । लेष्टर सिटीलाई पराजित गर्दै म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वाटरफाइनलमा लेष्टरलाई पेनाल्टी सुटआउटमा ३ - १ गोल अन्तरले हराएर सिटीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
लेष्टरको मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट १ - १ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा गोलकिपर अरिजानेट मुरीक बन्दा सिटीले सफलता हात पार्यो ।
पेनाल्टी सुटआउटमा सिटीका लागि गुण्डुगान, ग्राबियल जिसस र एलेक्जेन्ड्रा जिन्चेन्कोले गोल गरे । रहिम स्टर्लिङले भने गोल गर्न सकेनन् ।
लेष्टरका ह्यारी मागुएरेले मात्र गोल गरेका थिए । लेष्टरका दुई पेनाल्टी सिटीका गोलकिपर मुरीकले बचाएका थिए ।
त्यसअघि सिटीले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको थियो । घरेलु टोलीविरुद्ध सिटीले खेलको १४ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७३ औं मिनेटमा लेष्टरका मार्क अल्ब्राईटनले गोल गर्दै खेल १ - १ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै अर्को खेलमा लिग वान क्लब बुर्टोन अल्बोइनले मिडल्सब्रोलाई १ - ० ले हराएर सेमिफाइनलको यात्रा तय गरेका छन् ।