एजेन्सी । बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी पाँचौ पटक गोल्डेन बुट जितेका छन् । मेस्सीले लिभरपुलका फरवार्ड मोहमद सलाहलाई पछि पार्दै कीर्तिमानी पटक गोल्डेन बुट जितेका हुन् ।
सन् २०१७-१८ को सिजन युरोपका मुख्य लिगमा सर्वाधिक गोलकर्ता बन्दै अर्जेन्टिनाका मेस्सीले गोल्डेन बुटमा पाँचौ पटक कब्जा जमाएका हुन् । मेस्सी पाँच पटक गोल्डेन बुट जित्ने एक्लो खेलाडी हुन् । मेस्सीलाई मंगलबार गोल्डेन बुट प्रदान गरिएको थियो ।
मेस्सीपछि पोर्चुगिज तथा युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले चार पटक गोल्डेन बुट जितेका छन् । रोनाल्डोले पछिल्लो पटक सन् २०१५-१६ को सिजन गोल्डेन बुट जितेका थिए ।
गोल्डेन बुट जित्ने क्रममा मेस्सीले गत सिजन ला लिगाको ३६ खेलमा ३४ गोल गरेका थिए । सलाहले ३२ गोल गरेका थिए । गोल्डेन बुटको दाबेदारमा टोटेनहमका फरवार्ड ह्यारी केन तेस्रोमा रहे । उनले ३० गोल गरेका थिए ।
रोनाल्डोले भने गत सिजन २७ खेलमा २६ गोल गरेका थिए ।
मेस्सी यस सिजन पनि गोल्डेन बुटको दाबेदार मानिएको छ । जारी लिगमा मेस्सीले १४ गोल गरिसकेका छन् ।