काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायरमा काठमाडौं किङस इलाभेनले ललितपुर प्याट्रियट्सलाई जितका लागि १०९ रनको सामान्य लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०८ रन जोड्न सक्यो ।
काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोडे । यस्तै सागर पुनले २९ रन जोड्दा सिदान्त लोहनी १६ रनमा आउट भए ।
काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका पवन सरार्फ र योगेन्द्र सिंह कार्कीले ३/३ विकेट लिए । सन्नी पटेलले २ विकेट लिए ।
दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर शीर्ष स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । ललितपुरले पाँच खेलमा ८ अंक जोड्यो । पहिलो खेल गुमाएपनि ललितपुरले लगातार चार खेल जितेको थियो । र, ललितपुर उक्त जितको लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
यता, रोहन मुस्तफाको कप्तानीमा मैदान उत्रने काठमाडौंले पाँच खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायरको यात्रा तय गरेको हो । जारी लिगमा काठमाडौं लिग चरणमा ललितपुरसंगै पराजित भएको थियो । काठमाडौंलाई आज लिग चरणको हारको बदला लिने अवसर समेत रहेको छ ।
ईपीएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायरमा स्थान बनाउने छन् । जस अन्तर्गत ललितपुर र काठमाडौंबीचको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।
यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासंग खेल्नेछ । बुधबार हुने इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगरबीच प्रतिस्पर्धा हुनेछ ।