काठमाडौं । राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङलाई दुई 'ए' डिभिजन क्लब थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबले फुकुवा गरिदिने भएका छन् ।
लिग खेल्न दुवै क्लबसंग सम्झौता गरेका अनन्तलाई अन्तिम समयमा आएर थ्री स्टार र मनाङले फुकुवा गर्न सहमती जनाएका हुन् । दुवै क्लबसंग अनुबन्धन सम्झौता गरेका कारण अनन्तले सहिद स्मारक 'ए' डिभिजन लिग खेल्न पाएका थिएनन् ।
दुवै क्लबले अनन्तको अनुबन्धन सम्झौता आफुसंग रहेको जिकिर गर्दै प्रतिद्वन्दी क्लबबाट खेल्न नदिने अडान लिएका थिए । सोही अडानका कारण राष्ट्रिय फुटबल टिमका भरपर्दा डिफेन्डर अनन्तको करियर निकै जोखिमपुर्ण अवस्थामा थियो । घरेलु फुटबलमा प्रतियोगिता नहुदाँ अनन्त लगायतका खेलाडीलाई थ्री स्टारले अनुबन्धन गरेर राखेको थियो । लिग सुरु हुने निश्चित भएपछि अनन्तले मनाङसंग गएर सम्झौता गरेका थिए ।
बुधबार मध्यान्न दुवै क्लबका पदाधिकारी एन्फा कम्प्लेक्स पुगेर दुवै क्लबकाे सुचिमा रहेका अनन्तकाे नाम फिर्ता लिने छन् ।
दुवै क्लबले खेलाडी दर्ताबाट अनन्तको नाम फिर्ता लिने भएपछि उनी एन्फाको कारबाहीबाट जोगिने भएका छन् । दुवै क्लबसंग अनन्तले सम्झौता गरेकाे भेटिएपछि एन्फाले उनलाई कारबाहीको तयारी गरेको थियो ।
‘खेलाडीको भविष्यलाई हेरेर अनन्तको नाम फिर्ता लिने निर्णय गर्यौ ।’ थ्री स्टार अध्यक्ष अरुणमान जोशीले भने, ‘फुटबलकै विकासमा लागेको हुनाले खेलाडीले गल्तीलाई माफ दिने बिषयमा सहमती जुटायौ ।’
अनन्तलाई एन्फाले कारबाहीको तयारी गरेपछि थ्री स्टार र मनाङका पदाधिकारीको अनौपचारिक बैठक मंगलबार साँझ बसेको थियो । सोही बैठकले अनन्तको नाम दुवै क्लबले फिर्ता लिने बिषयमा भद्र सहमती गरेको हाे ।
स्रोतका अनुसार अनन्तले यस सिजनका बाँकी खेल थ्री स्टार र मनाङ बाहेकका क्लबबाट खेल्नेछन् ।