एजेन्सी । स्वीडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले आगामी सिजन अमेरिकन क्लब एलए ग्यालेक्सीबाटै खेल्ने भएका छन् ।
अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) मा एलए ग्यालेक्सीबाट व्यबसायीक फुटबल खेलिरहेका इब्राहिमोविचले सन् २०१९ को सिजनसम्म क्लबमै रहने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा एक भिडियो सन्देश पोष्ट गर्दै इब्राहिमोविचले एलए ग्यालेक्सीमै रहने बताएका छन् ।
स्वीडेनका पुर्व स्टार ३७ बर्षीय इब्राहिमोविचले गत मार्चमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट एलए ग्यालेक्सी गएका थिए ।
यस सिजन इब्राहिमोविचले एलए ग्यालेक्सीबाट २७ खेलमा २२ गोल गरेका थिए । तर, एलए ग्यालेक्सी प्ले अफमा पुग्न असफल भएको थियो ।
यसअघि इब्राहिमोविच युरोप फर्कने खबर आएको थियो । उनी पुर्व क्लब एसी मिलान फर्कने बताईएको थियो । तर, त्यो हल्लालाई इब्राहिमोविचले झुटो सावित गरिदिएका छन् ।