काठमाडौं । राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटबाट बाहिरिएपछि विराटनगर वारिवर्सका कप्तान पारस खड्काले अर्को सिजन उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउने बताएका छन् ।
टियु क्रिकेट मैदानमा सोमबार काठमाडौं किङस इलाभेनसंग ५ विकेटले पराजित हुँदै साविकको विजेता विराटनगर प्रतियोगिताबाट बाहिरिएको थियो । प्रतियोगिताबाट बाहिरिएपछि बोल्दै कप्तान पारसले टिमको उत्कृष्ट प्रदर्शन बाबजुत ईपीएलको प्ले अफमा पुग्न नसकेको बताए ।
'हामीले उत्कृष्ट प्रदर्शन गर्दा पनि जित निकाल्न सकेनौ,' कप्तान पारसले भने, ' हामी अर्को सिजनमा बलियो भएर प्रतियोगितामा आउने छौं ।'
काठमाडौंविरुद्ध जित्नै पर्ने खेलमा ब्याट्सम्यानहरु चल्न नसक्दा विराटनगर कम स्कोरमा समेटिएको थियो । जसको कारण विराटनगर प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको थियो ।
तर, कप्तान पारसले प्रतियोगिताभर टोलीको प्रदर्शन उच्च रहेको बताए । उनले भने, 'हाम्रो अन्य खेल पनि उत्कृष्ट नै रह्यो । तर, आज काठमाडौंको बलिङ उत्कृष्ट भयो । जसको प्रतिफल हामी प्रतियोगिताबाट बाहिरिनु पर्याे ।'
जारी लिगको पाँच खेलमा विराटनगरले २ जितसहित ४ अंक जोड्यो । समान अंक भएपनि नेट रन रेटमा अघि रहदै चितवनले प्ले अफमा स्थान बनायो ।
आज विराटनगर काठमाडौंसंग १८ ओभर भन्दा पछि पराजित भएको भए विराटनगरले प्ले अफमा स्थान बनाउने थियो । तर, १८ ओभर सकिन दुई बल बाँकी रहदै पराजित भएपछि विराटनगर बाहिरिएको हो ।
यस्तै कप्तान पारसले रन रेट कै कारण यस सिजनबाट बाहिरिनु परेको बताउदै अर्को सिजन रनको स्कोरलाई दोब्बर बनाउने लक्ष्यसहित आउने बताए ।
'हामीले अन्य खेलमा पनि राम्रो रन बनाउन सकेनौं । यदि अन्य खेलमा धेरै रन ल्याएको भए हामीलाई आजको खेलमा सहज हुने थियो,' कप्तान पारसले थपे, 'अब यस सिजनको स्कोरलाई डबल बनाउने योजनाका साथ आउने छौं ।'