एजेन्सी । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको हो । मेस्सी प्रेणित बार्सिलोनाले आइतबार राति लेभान्टेलाई ५ - ० गोल अन्तरले पराजित गरेको हो ।
१० खेलाडीमा समेटिएको लेभान्टेविरुद्ध बार्सिलोनाले उसैको मैदानमा ३ अंक जोडेको हो । बार्सिलोनालाई जित दिलाउन मेस्सीको ह्याट्रिकसंगै लूइस स्वारेज र जेर्रार्ड पीकेले एक एक गोल गरे ।
खेलको ३५ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । ४३ औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २ - ० को अग्रता बनायो ।
दोस्रो हाफमा बार्सिलोनाले थप तीन गोल गर्यो । खेलको ४७ औं मिनेटमा मेस्सीले व्यतिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ६० औं मिनेटमा मेस्सीले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा बार्सिलोना ४ - ० ले अघि रह्यो ।
खेलको ७६ औं मिनेटमा लेभान्टेका इरिक काबाकोले रातो कार्ड पाउदा घरेलु टोली १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ८८ औं मिनेटमा पीकेले गोल गर्दै बार्सिलोनालाई ५ - ० को फराकिलो जित दिलाए ।
लेभान्टेविरुद्धको ह्याट्रिकसंगै मेस्सीले ला लिगामा ३१ औं ह्याट्रिक पुरा गरेका छन् । उनले यस सिजन ला लिगामा १४ गोल गरिसकेका छन् । मेस्सी यस सिजन सर्वाधिक गोल गर्ने खेलाडीको पहिलो स्थानमा छ ।
जितसंगै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको हो । बार्सिलोना १६ खेलबाट ३४ अंक जोडेको छ । र, दोस्रो स्थानको सेभियाभन्दा ३ अंकले अघि छ ।
दोस्रो स्थानको सेभियाको ३१ अंक छ । लेभान्टे २२ अंक जोडेर आठौं स्थानमा छ ।