एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब आर्सनल पराजित भएको छ । आइतबार भएको खेलमा आर्सनल साउथह्याम्पटनसंग ३ - २ गोल अन्तरले पराजित भएको हो ।
तुलनात्मक कमजोर टिम साउथह्याम्पटनले आर्सनललाई घरेलु मैदानमा स्तब्ध बनाएको हो । साउथह्याम्पटनलाई जित दिलाउन ड्यानी इन्ग्सले दुई गोल गरे । यस्तै चार्ली अस्टिनले एक गोल गरे । आर्सनलका हेन्रिक मिखीटेरीयनले दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
घरेलु मैदानमा बल पोजिसनमा पछि परेपनि साउथह्याम्पटनले खेलको २० औं मिनेटमा ड्यानीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा आर्सनलका मिखीटेरीयनले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए । तर, खेलको ४४ औं मिनेटमा ड्यानीले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा साउथह्याम्पटन २ - १ ले अघि रह्यो ।
दोस्रो हाफको सुरुवातमै आर्सनल खेलमा फर्कियो । खेलको ५३ औं मिनेटमा मिखीटेरीयनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २ - २ गोलको बराबरीमा ल्याए । तर, खेलको अन्तिम पाँच मिनेट बाँकी हुँदा साउथह्याम्पटनका अस्टिन दृश्यमा आए । उनले खेलको ८५ औं उत्कृष्ट हेड गोल गर्दै साउथह्याम्पटनलाई ३ - २ को महत्वपूर्ण जित दिलाए ।
आर्सनललाई पराजित गरेसंगै साउथह्याम्पटन भने रेलिगेसन जोनबाट माथि निस्किएको छ । साउथह्याम्पटनले १७ खेलबाट १२ अंक जोडेको छ । र, साउथह्याम्पटन लिगको १७ औं स्थानमा छ ।
यता, साउथह्याम्पटनसंगको हारसंगै आर्सनलले भने शीर्ष क्लबहरुसंग अंक दुरी कम गर्ने मौका गुमाएको छ । लिगको पाँचौ स्थानमा रहेको आर्सनलले १७ खेलबाट ३४ अंक जोडेको छ ।