काठमाडौं । पाँचौ संस्करणको माईभ्याली गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ । फागुन २३ गतेबाट चैत २ गतेसम्म सञ्चालन हुने तय भएको प्रतियोगिता अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
नेपाली सेनाले आफ्नो स्वामित्वमा रहेको मैदानमा अभ्यास गर्न रोकावट गरेको र क्षेत्र घेराबारको नाममा सबैभन्दा बढी दर्शक अट्ने स्थानमा काँडे तार गरेको आरोप लगाउँदै आयोजकले प्रतियोगिता स्थगित गरेको जनाएको छ ।
मैदानमा पानी हाल्न स्विकृती नदिने र मैदानमा हानी पुग्ने काममा स्विकृती दिने नेपाली सेनाको कार्यले प्रतियोगिता गर्न नसकिने आयोजकको ठहर छ ।
आईतबार पत्रकार सम्मेलन गर्दै आयोजकले सम्पुर्ण तयारी प्रक्रिया अघि बढ्दा समेत सेनाको असहयोगका कारण प्रतियोगिता स्थगित गर्नुपरेको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले फागुनको अन्तिम साता प्रतियोगिता आयोजना गर्न समय उपलब्ध गराएको थियो ।