काठमाडौं । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्स टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा पुगेको छ ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सलाई ६ विकेटले हराएर ललितपुर क्वालिफायरमा पुगेको हो ।
टियु क्रिकेट मैदानमा भैरहवाले दिएको ९३ रनको लक्ष्य ललितपुरले १४ ओभर २ बलमा ३४ बल बाँकी रहदै मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
ललितपुरका लागि पवन सरार्फले २५ तथा जय किशन कोल्शावालाले अविजित २२ रन जोडे । सन्दीप जोरा १८ रनमा अविजित रहे । भैरहवाका लागि रायन टेन डेसकाटेले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो ।
भैरहवाका लागि रायन टेन डोसकाटेले सर्वाधिक ३७ रन जोडे । यस्तै रबी इन्दर सिंहले २५ रन जोडे । भैरहवाका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
भैरहवालाई सस्तैमा समेट्न ललितपुरका सन्नी पटेलले ५ विकेट लिए । सन्नी एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडी बने । यस्तै योगेन्द्र सिंह कार्की र राशिद खानले २/२ विकेट लिए ।
जितसंगै ललितपुरले ५ खेलबाट ८ अंक जोड्न सफल भयो । र, ललितपुर शीर्ष स्थानमा पुग्दै क्वालिफायरमा पुगेको हो । ५ खेलबाट ६ अंक जोडेको भैरहवाको पनि क्वालिफायर पुग्ने सम्भावना रहेको छ । भैरहवा दोस्रो स्थानमा छ ।
ललितपुरले खेल्ने क्वालिफायरको अर्को टोलीको भने तय हुन् बाँकी छ । अब सोमबार हुने विराटनगर र काठमाडौं किङस इलाभेनबीचको खेलपछि क्वालिफायरमा पुग्ने दोस्रो टोलीको तय हुनेछ । त्यहिँ खेलले प्ले अफमा पुग्ने अर्को टोलीको पनि तय हुनेछ ।
क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नु पर्ने हुन्छ ।