एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले आफुहरु लिग उपाधि उचाल्नका लागि तयार भएको बताएका छन् । आईतबार राति प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडसंग भिड्नु अघि लिभरपुल कप्तानको सो भनाई बाहिर आएको हो ।
खराब लयबाट गुज्रिरहेको म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै लिभरपुललाई तालिकाको शीर्ष स्थानमा उक्लिने मौका छ । खराब लय देखाईरहेको युनाईटेडलाई लिभरपुलले आज राति एनफिल्डमा आतिथ्यता प्रदान गर्दैछ ।
सन् १९९० पछि लिभरपुलले लिगको उपाधि उचाल्न सकेको छैन । सन् २०१४ मा लिभरपुल उपाधि जित्ने दाबी सहित अगाडी आएको थियो । तर लण्डन क्लब चेल्सीसंग २–० ले पराजित भएसंंगै उसको ओरालो यात्रा सुरु भएको थियो ।
‘केही बर्षमा हामीसंग बिल्कुलै फरक खेलाडी छन् र फरक अवस्था छ ।’ उनले भने, ‘म विगतमा जान चाहन्न । म सबै खेल जित्नमा केन्द्रित हुन चाहन्छु । हामी उपाधि सहित सिजनको अन्त्य गर्नेछौ ।’
‘मलाई लाग्छ, हामी तयार छौ । म त्यही महशुश गरिरहेको छु । हामीसंग उपाधि जित्ने क्षमता समेत छ ।’ उनले थपे ।
सन् २०१४ यता लिभरपुल म्यान्चेष्टर युनाईटेडसंग पराजित भएको छैन ।
‘यो निकै फरक अवस्था हो । लिभरपुल र युनाईटेडको भिडन्त विश्वकै ठुलो खेल मध्यको एक हो ।’ हेन्डरसनले भने, ‘उनीहरुसंग विश्वस्तरीय टिम र म्यानेजर छन् ।’