काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत अहिले केहि बेरमा ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सबीच खेल हुँदैछ ।
टियु क्रिकेट मैदानमा शीर्ष स्थानको ललितपुरले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । लिगको खेल तालिकामा दोस्रो स्थानमा रहेको भैरहवाले केहि बेरमा ब्याटिङ गर्नेछ ।
उपाधिका दाबेदार ज्ञानेन्द्र मल्लको ललितपुर र शरद भेषावकरको भैरहवा आज जित निकाल्दै क्वालिफायरमा पुग्ने योजनामा रहेका छन् ।
दुवै टोली जित निकाल्दै तालिकाको शीर्ष दुईमा पुग्न चाहन्छ । दुवै टोलीका कप्तानले अन्तिम खेल जितेर क्वालिफायर पुग्ने लक्ष्य रहेको बताईसकेका छन् ।
ईपीएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछ । क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नु पर्ने हुन्छ ।
एक खेल अगावै टोली टोलीले प्ले अफमा स्थान पक्का गरिसकेको छ । यस खेल दुवै टोलीको लिग चरणको अन्तिम खेल हो ।यस खेलमा जित हात पार्ने एक टोलीको शीर्ष दुई पक्का हुनेछ ।
पहिलो खेलमा विराटनगरसंग पराजित ललितपुरले त्यसपछिका तीन खेलमा लगातार जित हात पार्दै प्ले अफमा पुगेको हो । ललितपुरको ४ खेलबाट ६ अंक छ ।
सुरुवाती तीन खेलमा जित निकालेको भैरहवा शनिबार काठमाडौं किङ्स इलाभेनसंग पराजित भएको थियो । साविकको उपविजेता समेत रहेको भैरहवाको पनि ४ खेलबाट ६ अंक रहेको छ ।