काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य शक्ति गौचनले शनिबारबाट क्रिकेट खेल जीवनबाट सन्यास लिए । विश्व क्रिकेटमा 'शक्ति द पावर' नामले चिनीने शक्तिले शनिबार टियु क्रिकेट मैदानमा अन्तिम खेल खेले ।
टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सविरुद्ध पोखरा राईनोजबाट मैदान उत्रदै शक्तिले करिब १८ बर्षे क्रिकेट करियरलाई बिट मारे ।
शक्तिले सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपमा पहिलो नेपालको जर्सी लगाएका थिए । त्यहिँबाट शक्तिले नेपाली क्रिकेटमा पाईला चालेका थिए ।
शक्ति एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने उनी नेपालका पहिलो खेलाडी हुन् । अन्तराष्ट्रिय खेलमा शतक प्रहार गर्ने उनी नेपालका दोस्रो खेलाडी हुन् ।
३४ बर्षिय शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने गत जुलाईबाट नै सन्यास घोषणा गरेका थिए । नेदरल्याण्डसविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । जुन नेपाली क्रिकेटको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो ।
भेट्रान बलर शक्ति अब क्रिकेट मैदानमा फरक भूमिकामा देखिने छन् । तर, नेपाली क्रिकेटले शक्तिको त्यो जादुमय बलिङ सधै सम्झने छ ।
क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गर्दा शक्तिले आफ्नो करियरबाट खुसी रहेको प्रतिक्रिया दिए । तर, शक्तिले क्रिकेट मैदान सधै सम्झिरहने प्रण गरे ।
सन्यासपछि टियु क्रिकेट मैदानमा शक्तिले आफ्नो खेल जीवनबारे बोलेका छन् । शक्तिले आफ्नो खेल जीवनबारे संचारकर्मीलाई बताएको सम्पादित अंश तल प्रस्तुत गरिएको छ ।
'म ९९ प्रतिशत सन्तुष्ट छु । एक प्रतिशत भन्ने आफ्नो ठाँउमा हुन्छ । एउटा खेलाडी भएको नाताले यो विदाई मलाई एकदमै भब्य लागेको छ । दिन पनि आज त्यस्तै जुर्याे । सम्पुर्ण दर्शकले मलाई हौसलाका साथ विदाई गरे ।
एकदमै खुसी छु । यो पल म कहिल्लै भुल्ने छैन् । यो क्षण खेलाडीहरुका लागि एकदमै अवस्मणीय हुनेछ । हुन्छ पनि त्यहिँ नै मेरो लागि पनि भएको छ । यो क्षण मैले म मरुन्जेलसम्म पनि बिर्सने छैन् ।
अन्तिम खेल खेल्दै गर्दा धेरै कुरा सोचेको थिएन्, छक्का र चौका मात्र नहोस् भन्ने लागेको थियो । सुरुवातमा सामान्य खेल जस्तो लागेको थियो । १० ओभरपछि केहि फरक लाग्यो । आफ्नो बलिङको समय आईसकेपछि अनुभुति हुन लाग्यो कि यो मेरो अन्तिम खेल हो भन्ने । नरमाईलो लागिरहेको थियो । अन्तिम खेलमा आफुले जति सक्दो राम्रो खेलौ भन्ने लागेको थियो । कारणबस जिताउन भने सकिएन । आफ्नो टिमलाई जिताएर सन्यास लिएको भए एकदमै राम्रो हुने थियो ।
मैले जतिबेला पनि भन्ने गरेको छु । मैले खेलेका हरेक खेलहरुमा आफुले इमान्दारीपूर्वक खेलेको हुन्छु । रिजल्ट भन्ने आफ्नो ठाँउमा हो । कोसिस भन्नेगरिरहेको हुन्छु । चाहे जीवनको अन्य कुरामा किन न होस् ।
मेरो खेल जीवन सफल भएकै रुपमा लिन्छु । मैले सुरुवातमा भारतबाट खेलेर आएको थियो । जतिबेला मैले बंगलादेशमा २००१ मा भएको खेलमा नेपालको राष्ट्रिय गान गाए त्यतिबेला देखिनै मेरो भित्रि आत्माले भनेको थियो कि तैले नेपालको लागि केहि गर्नु पर्छ । क्रिकेट नै तेरो एउटा दिशा हो जुन खेलमा लाग्दा तलाई सफलता मिल्छ । आफ्नो देशको लागि परिवारको लागि केहि गर्न सक्छस भन्ने आयो । त्यो बेला देखिनै म क्रिकेटमा लागिरहे, कहिल्लै पछि हटिन । अहिले आएर जुन नेपाली दर्शक, समर्थकले जुन माया र ममता दिएका छन् । मलाई लाग्छ यो मेरो जीवनको सबै भन्दा ठुलो सफलता हो ।
क्रिकेटको खेल हेर्ने हो भने सबैभन्दा ठुलो र राम्रो क्षण टी–ट्वान्टि विश्वकप नै हो । नेपाली क्रिकेटको लागि पनि त्यो पल ठुलो थियो । म खेलाडी भएको नाताले पनि र नेपाली भएको नाताले पनि त्यो नै हो मेरो जीवनको सबै भन्दा अवस्मणिय क्षण हो ।
मुख्य त खेल मैदानलाई मिस गर्छु । किनकि हामी खेल्ने नै खेल मैदान भित्र हो । त्यसपछि नेपाली राष्ट्रिय टोलीका सहकर्मीहरुलाई धेरै सम्झिने छु । धेरै कुराहरु छन् । अरुले खेलको देख्दा मिस हुनेछ ।
अब भने नेपाललाई ५० ओभरको विश्वकप खेलेको हेर्ने धोको छ । अरुलाई लाग्छ होला यो सम्भव छैन । तर, मलाई भने त्यो लाग्दैन । यो सपना साकार हुनेछ । मैले २००१ मा क्रिकेट खेल्दा पनि नेपालले विश्वकप खेल्छ भन्ने लागेको थिएन हामीले गरेर देखायौ । सरकार पक्षबाट सहयोग भयो भने यो पनि सफल हुनेछ । क्रिकेट बिकासको पाटोमा लाग्यौ भने आउने दश बर्ष पछि नेपालले वान डे विश्वकप खेल्नेछ ।
मलाई लाग्छ अब म नेपाली क्रिकेट बिकासको क्षेत्रमा लाग्नेछु । मैले गर्ने योगदानमा सबैले साथ दिनेछन् । मैले एक्लै मात्र गरेर हुदैन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्छ ।'