एजेन्सी । साविकको विजेता म्यानचेस्टर सिटी इंग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एभर्टनलाई ३ - १ गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । यस्तै रहिम स्टर्लिङको नाममा एक गोल रह्यो । एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए ।
सिटीको सहज जितमा जिससले खेलको २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २ - ० को अग्रता दिलाए ।
खेलको ६५ औं मिनेटमा एभर्टनका लेविनले गोल गर्दै खेल २ - १ को स्थितिमा ल्याए । तर, खेलको ६९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ३ - १ को जित दिलाए ।
जितसंगै सिटीले लिभरपुललाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो । उपाधि होड कायम राख्ने क्रममा सिटीले १७ खेलबाट ४४ अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेको लिभरपुलको ४२ अंक छ । लिभरपुलले एक खेल कम खेलेको हो । पराजित एभर्टन २४ अंक जोडेर सातौं स्थानमा छ ।