काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पुर्व भेट्रान बलर शक्ति गौचनलाई विश्व क्रिकेटमा 'शक्ति द पावर' नामले चिनिन्छ । उनै शक्तिले शनिबारबाट क्रिकेट खेल जीवनबाट सन्यास लिए ।
टियु क्रिकेट मैदानमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा शनिबार पोखरा राईनोजबाट खेलेका शक्तिले चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेट खेल जीवनबाट सन्यास लिएका हुन् ।
नेपाली क्रिकेटमा १८ बर्ष बिताएका भेट्रान बलर शक्तिले नेपाली क्रिकेटलाई धेरै दिएर सन्यास लिए । नेपाली क्रिकेटले शक्तिको त्यो जादुमय बलिङ सधै सम्झने छ ।
सुरुवातमा भारतमा रहदा क्रिकेट खेल सिकेका शक्तिले सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपमा पहिलो नेपालको जर्सी लगाएका थिए । त्यहिँबाट शक्तिले नेपाली क्रिकेटमा पाईला चालेका थिए । र, निरन्तर नेपाली क्रिकेटका लागि योगदान दिए ।
'बंगलादेशमा पहिलोपटक देशको झन्डा बोकेको थिए । जब त्यहाँ नेपाली राष्ट्रिय धुन बजेको थियो,' खेल जीवनको अन्तिम खेलपछि भावुक हुँदै शक्तिले सम्झिए, 'मलाई त्यहिँबाट अन्तर आत्माबाट देशको लागि केहि गर्नु पर्छ भन्ने भावना जागेको थियो । क्रिकेटमा मैले केहि गर्नु पर्छ भन्ने सोचेको थिए ।'
नेपाली क्रिकेट टोलीमा १६ बर्ष बिताएका शक्तिले सन् २००२ बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा ओमानविरुद्ध खेल्दै गौचनले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । राष्ट्रिय टोलीमा डेब्यु गर्नुअघि गौचनले यू - १७ टोलीको कप्तानी र यू - १९ टोलीबाट खेलेका थिए ।
३४ बर्षिय शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने गत जुलाईबाट नै सन्यास घोषणा गरेका थिए । नेदरल्याण्डसविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । जुन नेपाली क्रिकेटको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो ।
शक्ति एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने उनी नेपालका पहिलो खेलाडी हुन् । अन्तराष्ट्रिय खेलमा शतक प्रहार गर्ने उनी नेपालका दोस्रो खेलाडी हुन् ।
शक्तिले देशका लागि जति खेले । सन्यास घोषणा गर्दा आफुले देशका लागि केहि योगदान गरेको अनुभूति समेत पाए ।
'जब अहिले यो सम्मान र माया पाएको छु । मैले क्रिकेट करियरमा देशका लागि केहि गरेको रहेछु भन्ने मनमा लागेको छ,' शक्तिले भने ।
नेपाली क्रिकेटमा १८ बर्ष बिताएका भेट्रान बलर शक्ति अब क्रिकेट मैदानमा फरक भूमिकामा देखिने छन् । शक्तिले भैरहवामा आफ्नै क्रिकेट एकेडमी समेत खोलेका छन् ।