काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई जितका लागि १ सय ५५ रनको लक्ष्य दिएको छ ।
टियु मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो ।
यो ललितपुर मेयर्स कपको नै सर्वाधिक ठूलो योगफल हो । यस अघि २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स ११ ले लुम्बिनी प्रदेशविरुद्ध १ सय ४४ रन बनाएको थियो ।
एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् ।
इन्दु बर्माले ४१ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो ।
कोशीका लागि अलिसा खडियाले १ विकेट लिईन् ।
अपराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।
गत वर्षको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।

तेस्रो संस्करणमा कोशी भने पहिलो पटक फाइनल खेल्न लागेको हो ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको थियो ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गरेका थिए ।