काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा क्यानडाले लगातार दोस्रो जित निकालेको छ ।
नामिबियाको विन्डोकमा रहेको वन्डुरस क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले अमेरिकालाई २६ रनले पराजित गरेको छ ।
क्यानडाले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४७ ओभर ३ बलमा अलआउट भएर १ सय ७२ रन बनायो ।
अमेरिकाका लागि सुशान्त मोदिनीले १ सय २६ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । नोस्तुशा केन्जिनेले २८ रन बनाउँदा आरोन जोन्स १६ रनमा आउट भए ।
गजानन्द सिंहले ११ तथा शायान जाहानगिरले १० रन बनाए । क्यानडाले २२ रन अतिरिक्तमा दिएको थियो ।
क्यानडाका लागि साद विन जाफर र कलिम सानाले समान ३/३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ४९ ओभर ४ बलमा अलआउट हुदै १ सय ९८ रन बनाएको थियो।
क्यानडाका लागि आरोन जोहानसनले ४७ बनाउँदा हर्ष थाकेरले ४३ रन बनाए । निकोलस क्रिटोनले ३५ तथा रविन्द्रपाल सिंहले २६ रन बनाए ।
कलिम साना १६ रनमा अविजित रहे ।
अमेरिकाका लागि निसार्ग पटेल,सौरभ नेत्राभाल्कर र अलि खानले समान २/२ तथा जसदिप सिंह र नोस्तुशा केन्जिनेले समान १/१ विकेट लिए ।
लगातार दोस्रो जित हात पारेको क्यानडा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पहिलो हार व्यहोरेका अमेरिका २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।
युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।