काठमाडौं । घरेलु टोली बंगलादेशले पाहुना टोली आयरल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा जित निकालेको छ ।
चिटाग्राममा भएको खेलमा बंगलादेशले ७७ रनको सानदार जित हात पारेको हो । जितसँगै घरेलु टोलीले तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा १ खेल अगाबै जितेको छ ।
बर्षाका कारण ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याईएको छ ।
घरेलु टोलीले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले १७ ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनायो ।
पाहुना टोलीका लागि कुर्टिस क्याम्पफिरले ३० बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । ह्यारी टेक्टरले २२ रन बनाउँदा ग्राह्याम हुमी २० रनमा अविजित रहे ।
आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
घरेलु टोलीका लागि कप्तान शाकिब अल हसनले ४ ओभरमा २२ रन खर्चिएर ५ विकेट लिए । टस्किन अहमदले ३ तथा हसन महमुदले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले १७ ओभरमा ३ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।
घरेलु टोलीका लागि ओपनर लिन्टन दासले ४१ बलमा १० चौका र ३ छक्काको सहयोगमा ८३ रनको अर्धशतकीय ईनिङ खेले । रोनी तालुकदारले २३ बलमा ४४ तथा कप्तान शाकिब अल हसनले २४ बलमा अविजित ३८ रन बनाए ।
पाहुना टोलीका लागि बेन ह्वाइटले २ तथा मार्क अडिरले १ विकेट लिए ।
तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल शुक्रबार रहेको छ ।