काठमाडौं । आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आफ्नो पहिलो खेलमा क्यानडाले सानदार जित हात पारेको छ ।
सोमबार नामिबियाको विन्डोकमा रहेको युनाईटेड क्रिकेट मैदानमा भएको खेलेमा २०१४ पछि खेलेको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा क्यानडाले जर्सीलाई ३१ रनले पराजित गरेको छ ।
क्यानडाले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको जर्सीले ४८ ओभरमा अलआउट हुदै २ सय ७ रन मात्र बनायो ।
जर्सीका लागि जोस लाउरेन्सनले १ सय १ बलमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । निक ग्रिनउडले ७० बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले ।
जोन्टि जेनियरले २० रन बनाउँदा हारिसनले १८ रन बनाए ।
क्यानडाका लागि साद विन जाफर र जिरिमाई ग्रोडोनले समान ३/३ तथा निखिल दत्तले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।
क्यानडाका लागि श्रीमन्था विजयारत्ने र निखिल दत्तले अर्धशतकीय ईनिङ खेले । विजयारत्नेले ९१ बलमा ६३ तथा दत्तले ८२ बलमा ५६ रन बनाए ।
हर्ष थाकिर २७ रनमा आउट हुँदा रविन्द्रपाल सिंह २१ रनमा आउट भए । निकोलस क्रिटोनले १३ तथा प्रगत सिंहले ११ रन बनाए ।
जर्सीका लागि चाल्स प्रचडले ३ तथा जुलिस सुमिराउरी र बेन्जामिन वार्डले समान २/२ विकेट लिए ।
प्रतियोगिताको पहिलो खेलमा नै जित हात पारेको क्यानडा २ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
जर्सी भने अंक बिहिन रहँदै तेस्रो स्थानमा रहेको छ ।
क्यानडाले २०१४ पछि पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलेको हो । जर्सीले भने पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेलेको हो ।
दुवै टोली च्यालेन्ज लिग ए र बी का विजेताको रुपमा विश्वकप छनोट प्लेअफ खेल्न लागेका हुन् ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।
युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।