काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको अन्तिम सुनुवाईका लागि सोमबार पेशी तोकेको थियो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको थियो ।
तर, सन्दीपलाई थुनामै पठाउने न्यायाधीशकोमा पेशी तोकिएपछि सन्दीपका वकिलले सुनुवाइ सार्न निवेदन दिएका थिए । जसको कारण सुनुवाई स्थगित भएको हो ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
थुनामुक्त भएपछि सन्दीपले राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय खेलहरु खेलिसकेका छन् ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।