एजेन्सी । युरोपियन क्लब फुटबल सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको खेलहरु सकिएको छ । बुधबार राति समूह चरणको अन्तिम खेलसंगै च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलहरु सकिएको हो ।
समूह चरणको खेल सकिएसंगै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने १६ टोलीको समेत तय भएको छ । यस पटक साविकको विजेता रियल मड्रिड, युभेन्ट्स, बार्सिलोना, म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाइटेड, लिभरपुल लगायतका ठुला क्लबहरुले नकआउट चरणमा स्थान बनाए ।
च्याम्पियन्स लिगको समूह चरण सकिएसंगै गोल डटकमले च्याम्पियन्स लिगका समूह चरणको 'ड्रिम टिम' सार्वजनिक गरेको छ । र, सार्वजनिक 'ड्रिम टिम' मा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी, पिएसजीका नेयमार, एमबाप्पे लगायतका खेलाडी पर्दा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन् ।
यस्तै फिफा बर्ष खेलाडी र बालोन डी' ओर विजेता रियल मड्रिडका लुका मोड्रिच समेत टिममा परेनन् ।
गोल डटकमले सार्वजनिक गरेको 'ड्रिम टिम' को अग्र पंक्ति मेस्सी, नेयमार, केलीयन एमबाप्पे र वायर्न म्युनिखका रोबर्टो लेवान्डोस्कीले सम्हाल्ने छन् ।
यस्तै गोलकिपरमा क्लब बर्गका इभान होर्वेथ रहदा डिफेन्डरमा वायर्न म्युनिखका जोसुवा किमिच, शाल्केका मतिजा नस्टसिक, म्यानचेस्टर सिटीका एम्रिक लापोर्टे र बार्सिलोनाका जोर्डी अल्बा रहेका छन् ।
त्यस्तै ड्रिम टिमको मिडफिल्डरमा बोरुसिया डर्टमण्डका एलेक्स विट्सेल र युभेन्ट्सका मिरालिम पजनिक अटाएका छन् ।