इटहरी । आत्मघाती गोल निर्णायक भएपछि १३ औं इटहरी गोल्डकपमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ ।
इटहरी रंगशाला भएको अन्तिम सेमिफाइनलमा खेलमा आर्मीका दिपक गुरुङले आत्मघाती गोल गरेपछि चर्च व्बाइजले फाइनलमा स्थान बनाएको हो ।
२२ औं मिनेटमा बेम्पाले हानेको फ्रिकिकलाई क्लियर गर्ने क्रममा दिपक गुरुङको हेडर आफ्नै पोष्टको जाली चुम्यो । त्यसपछिको खेलमा दुवै टोलीले केही मुभहरु बनाएपनि गोल गर्न सकेनन् । जितसंगै चर्च व्बाइजले कम्तीमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ ।
अब शनिबार हुने फाइनलमा चर्च व्बाइजले डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो हाफमा आर्मीले केही राम्रा मुभहरु बनाएपनि गोलमा परिणत भएन् । २४ औ मिनेटमा कप्तान जिलेस्पीजंग कार्कीको क्रसमा सन्तोष केसीले फितलो प्रहार गरे । ४३ औ मिनेटमा सुदिल राईको क्रसलाई चर्च व्बाइजका खेलाडीले क्लियर गरिदिए । लगतै दिनेश हेन्जनको कर्नर प्रहारमा बिमल पाण्डेको हेडर फ्रेममा पर्न सकेन् । इन्जुरी समयमा आर्मीले खेल बराबरीको सुन्दर मौका गुमाउन पुग्यो । चर्च व्बाइजका डिफेन्डरको गल्तीमा गोलरक्षक बिट भएको अवस्थामा दिनेश हेन्जनले खाली पोष्टमा गोल गर्न सकेनन् । दोश्रो हाफको इन्जुरी समयमा चर्च व्बाइजका डिफेन्डर बेम्पाको गल्तीबाट पाएको अवसरलाई सुशान्त चौधरीले खेर फाले ।
चर्च व्बाइजले पनि अग्रता फराकिलो बनाउने केही अवसरलाई उपयोग गर्न सकेन् । पहिलो हाफको इन्जुरी समयमा गगनदिप सिंहको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो । ४८ औं मिनेटमा दिपक गुरुङलाई बिट गर्दै वान भर्सेस वानको अवसर कप्तान मिलन राईले सदुपयोग गर्न सकेनन् । ५७ औं मिनेटमा वान भर्सेस वानको अवस्था मिलन राईले पाएको अवसरलाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिए । ५ मिनेट लगतै मिलनले पाएको अवसरलाई विकेशले जोखिम मोल्दै डिबक्स बाहिर आएर क्लियर गरे । ८० औं मिनेटमा डिफेन्डरलाई बिट गराएर अघि बढाएको बललाई शुक्र राईले सदुपयोग गर्न सकेनन् ।
खेलपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक नविन न्यौपानले अपेक्षा अनुसार बल नियन्त्रणमा राख्न नसक्दा पराजित भएको बताए । गोलरक्षक र डिफेन्डर बिचको तालमेल नहुँदा गोल व्यहोर्न पुगेको उनले बताए । विपक्षीको कम्प्याक्ट डिफेन्सलाई तोड्न नसक्दा गोल स्कोर नभएको बताए । न्यौपानले पाएको २ वटा महत्वपुर्ण अवसर सदुपयोग नहुनु नै पराजयको कारण भएको समेत बताए । उनले निर्णायकले पाएको पेनाल्टीको अवसर नदिएको आरोप लगाए । रेफ्रीहरुलाई म्याच एक्सपोजरको कमी भएको कारण सहि निर्णय दिन समस्या हुने गरेको उनले गुनासो गरे ।
चर्च व्बाइजका प्रशिक्षक प्रदिप हुमागाईले खेलबाट सन्तुष्ट भएको बताए । उनले अघिल्लो खेलका केही खेलाडीलाई विश्राम दिएर नयाँ खेलाडीको प्रयोग सफल भएको बताए । उनले खेलाडी बिचको समन्वय सफल हुनु खुशीको बिषय भएको बताए । हुमागाईले रेफ्रीको निर्णय प्रति सन्तुष्टी व्यक्त गर्दै नेपाली रेफ्रीहरु क्षमतावान रहेको प्रतिक्रिया दिए ।
शनिबार हुने फाइनलमा चर्च व्वाइजले डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबसंग खेल्नेछ । सगरमाथा पहिलो सेमीफाइनलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्रको चुनौती पन्छाउँदै फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।