काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
सुजलले बिहीबार सामाजिक संजालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
अष्ट्रेलिया जानु अघि सुजलले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । सुरक्षित भबिस्यका लागि सुजल बिहीबार राति अष्ट्रेलिया प्रस्थान गर्दै छन् ।
'११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केहि खुसीका पल त केहि दुखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलिबाट आफ्नो सन्यास घोषणा गर्दछु,' सुजलले लेखेका छन्, 'यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरे । हाल राष्ट्रिय टोलिमा रहेका र अन्य भाईहरु धेरै क्षमतावान छन् । र, म विश्वस्त छु कि भाईहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नया पुस्ताको हो ।'
सुजलले सन्यासका लागि यो उपयुक्त समय भएको बताएका छन् ।
'सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विस्वास गर्दै नियमित राष्ट्रीय टोलीमा स्थान दिदै यहाँ सम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रसिक्षकहरुलाई पनि हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो,' सुजलले भने ।
सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
एन्फा एकेडेमीका उत्पादन सुजलले नेपाली राष्ट्रिय टोलीबाट ४५ खेल खेल्दै ३ गोल गरेका छन् ।
नेपालले २०१६ मा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको उपाधि जित्दा सुजल टिममा थिए ।
नेपालमा आयोजना भएको १३ औं सागमा सुजलको कप्तानीमा नेपालले स्वर्ण पदक जितेको थियो ।
सुजलको गत नोभेम्बरमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि अन्तिम खेल रह्यो ।
सुजलले २०१९ मा म्यानमारविरुद्ध मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी समेत गरेका थिए।