एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएको छ ।
बुधबार राति भएको खेलमा युनाइटेड भ्यालेन्सियासंग २ - १ गोल अन्तरले पराजित भएको हो । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा फिल जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड स्तब्ध बनेको हो ।
खेलको १७ औं मिनेटमा कार्लोस सेलोरले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा जोन्सले आत्मघाती गोल गर्दा भ्यालेन्सिया २ - ० ले अघि रह्यो । त्यसपछि खेलको ८७ औं मिनेटमा मार्कुस राष्फोर्ड एक गोल फर्काए पनि युनाइटेड २ - १ ले पराजित भयो ।
भ्यालेन्सियासंग पराजित भएपनि युनाइटेड समूह 'एच'को उपविजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । युनाइटेडले ६ खेलबाट १० अंक जोड्यो । ८ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रह्यो । यस समूहबाट युभेन्ट्स समूह विजेता बन्यो ।