एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मन क्लब वायर्न म्युनिख बराबरीमा रोकिएको छ । बुधबार रति भएको खेलमा वायर्नले आयाक्ससंग ३ - ३ गोलको बराबरी खेलेको हो ।
आयाक्सको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा वायर्नका लागि रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै किङस्ले कोम्यान एक गोल गरे । आयाक्सका डुसान टाडिकले दुई गोल गर्दा निकोलसको नाममा एक गोल रह्यो ।
खेलको दोस्रो हाफमा दुवै टोली १० खेलाडीमा समेटिएको थियो । खेलको ६७ औं मिनेटमा आयाक्सका म्याक्सीमिलियन वेबेरले रातो कार्ड पाएका थिए । यस्तै खेलको ७५ औं मिनेटमा वायर्नका फरवार्ड थोमस मुलरले रातो कार्ड पाएका थिए ।
यस बराबरीसंगै समूह 'इ' बाट वायर्न समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । वायर्नले ६ खेलमा १४ अंक जोड्यो ।
आयाक्स समूह उपविजेता बन्दै नकआउट चरणमा पुग्यो । आयाक्सले १२ अंक जोड्यो ।