एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब होफेनहाइमलाई २ - १ ले हराएर सिटी समूह 'एफ' को विजेता बनेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन लोरी सानेले दुई गोल गरे । होफेनहाइमका आन्द्रेज कर्मारीचले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने होफेनहाइमले बनाएको थियो । खेलको १६ औं मिनेटमा पेनाल्टीमा कर्मारीचले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४५ औं मिनेटमा सिटीका सानेले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए । त्यसपछि खेलको ६१ औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २ - १ को जित दिलाए ।
जितसंगै सिटीले ६ खेलबाट १३ अंक जोड्यो । ३ अंक जोडेको होफेनहाईम पुछारमा रह्यो ।
यस समूहबाट लियोनले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनायो । ८ अंक जोडेको लियोनले बुधबार राति शख्तर डोनेक्स्टसंग १ -१ गोलको बराबरी खेलेको थियो ।