काठमाडौं । पाहुना टोली अष्ट्रेलियाले दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा घरेलु टोली भारतललाई लज्जास्पद रुपले हराएको छ ।
भारतको विसाखापटनममा भएको खेलमा पाहुना टोलीले १० विकेटको विशाल जित हात पारेको हो ।
जितसँगै पाहुना टोलीले तीन खेलको एकदिवसीय अन्तराष्ट्रियमा १-१ को बराबरी समेत गरेको छ ।
घरेलु टोलीले दिएको १ सय १८ रनको लक्ष्य पाहुना टोलीले ११ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
पाहुना टोलीका दुवै ओपनर अविजित रहेका थिए । ओपनर मिचेल मार्शले ३६ बलमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । मार्शले ६ छक्का र ६ चौका प्रहार गरेका थिए ।
अर्का ओपनर ट्राभिस हेडले ३० बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । हेडले १० चौका प्रहार गरेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २६ ओभरमा अलआउट हुँदै १ सय १७ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ रन बनाउँदै आउट भए । रविन्द्र जडेजाले १६ रन बनाउँदा अक्षर पटेलले अविजित २९ रन बनाए ।
पाहुना टोलीका लागि मिचेल स्टार्कले ५ तथा सेन एबटले ३ विकेट लिए । नाथन एलिसले २ विकेट लिए ।
स्टार्कले ८ ओभरमा ५३ रन खर्चिएर ५ विकेट लिएका थिए ।
तेस्रो तथा निर्णायक एकदिवसीय खेल आगामी बुधबार हुनेछ ।