काठमाडौं । दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं विश्वविद्यालय सेमिफाइनल प्रवेश गरेको छ ।
समूह सी बाट अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको काठमाडौंले समूह चरणको अन्तिम खेलमा केएफए विजनेश स्कुललाई पराजित गरेको हो ।
मुलपानीमा भएको खेलमा काठमाडौं १० विकेटले विजयी भएको हो ।
केएफएले दिएको ७५ रनको लक्ष्य काठमाडौं विश्वविद्यालयले ८ ओभर १ बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
काठमाडौंका लागि ओपनर विशाल देवकोटा र अर्जुन खड्का अविजित रहे । विशालले ३३ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर खड्काले १७ बलमा १५ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केएफएले १७ ओभर ३ बलमा अलआउट हुदै ७४ रन मात्र बनाएको थियो ।
केएफएका लागि समत शाहीले २१ तथा दिपेन हमालले १४ रन बनाए । काठमाडौंका लागि सार्थक न्यौपानेले ६ तथा आषिस चौलागाईले २ विकेट लिए ।
आज नै भएको अर्को खेलमा ब्लुबर्ड कलेज बिजयी भएको छ ।
आफ्नो पहिलो खेलमा जित निकाल्ने क्रममा ब्लुवर्डले ब्रिलियन्ट मल्टिपल कलेजलाई ८ विकेटले पराजित गरेको थियो ।
मुलपानी मैदानमा भएको खेलमा ब्रिलियन्टले दिएको ८६ रनको लक्ष्य ब्लुवर्डले १२ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
ब्लुवर्डका लागि दिपक डुम्रेले ४५ तथा रोनिम तिवारीले २३ रन बनाए । ब्रिलियन्टका लागि सागर कटवाल र हिमाल कुवँरले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्रिलियन्टले २० ओभरमा ८ विकेट गुमाएर ८५ रन बनाएको थियो ।
ब्रिलियन्टका लागि अजय पान्डेले २५ तथा रविन्द्र कुवँरले १५ रन बनाए । ब्लुवर्डका लागि मिहोल श्रेष्ठले ३ विकेट लिए ।
ललितपुर प्याट्रियोट्स प्राइभेट कम्पिनीको आयोजनामा हुने यस संस्करणको प्रतियोगितामा १२ कलेजको सहभागीता रहने छ ।
गत बर्ष भएको पहिलो संस्करणमा ८ कलेजको सहभागीता रहेको थियो ।
मुलपानी क्रिकेट मैदानमा हुने यस प्रतियोगिताको व्यबस्थापन आडियासप नेपालले गर्नेछ । प्रतियोगिता २५ मार्च सम्म आयोजना हुनेछ ।
प्रतियोगिताको बिजेता कलेजले १ लाख र उपबिजेता कलेजले ५० हजार नगद प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद प्राप्त गर्दा बेस्ट बलर तथा ब्याटरले जनही १५ हजार पाउने छ ।
१५ खेल हुने प्रतियोगिताका हरेक खेलका म्यान अफ दि म्याचले नगद २५ सय प्राप्त गर्नेछन् ।