काठमाडौं । कप्तान शाई होपको सानदार शतकको सहयोगमा पाहुना टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ ।
बफेलो पार्क ईस्ट लण्डनमा भएको खेलमा घरेलु टोली कप्तान टेम्बा बमुभाको शतकका बाबजुद ४८ रनले पराजित भएको छ । योसँगै तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा पाहुना टोलीले १-० को अग्रता लिएको छ ।
पाहुना टोलीले दिएको ३ सय ३६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१ ओभर ४ बलमा २ सय ८७ रनमा अलआउट भयो ।
घरेलु टोलीका लागि कप्तान टेम्बा बभुमाले १ सय १८ बलमा ११ चौका र ७ छक्कासहित १ सय ४४ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
अर्का ओपनर क्विन्टन डि कक २६ बलमा ५ चौका र ३ छक्कासहित ४८ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
वेस्टइन्डिजका अल्जारी जोशेफ र अकिल हुसैनले समान ३/३ तथा यानिक कारिह,कायल मेयर्स र ओडन स्मिथले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३५ रन बनाएको थियो ।
वेस्टइन्डिजका लागि कप्तान शाई होपले १ सय १५ बलमा ५ चौका र ७ छक्कासहित १ सय २८ रनको शतकीय अविजित इनिङ खेले ।
रोभम्यान पावेल ४९ बलमा २ चौका र ३ छक्कासहित ४६ रनमा आउट हुदाँ निकोलस पुरन ४१ बलमा ५ चौकासहित ३९ रन बनाए ।
ओपनर काइल मेयर्स २६ बलमा ३६ तथा अर्का ओपनर ब्रेन्डन किंग २९ बलमा ३० रनमा आउट भए ।
घरेलु टोलीका लागि जेराल्ड कोएट्जीले ३ तथा ब्यूजोर्न फोटुइन र तबरेज शाम्सीले समान २/२ विकेट लिए ।
पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । तेस्रो तथा निर्णायक एकदिवसीय खेल मंगलबार हुनेछ ।