विराटनगर । झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
शनिबार विराटनगरस्थित जुट मिलको खेलमैदानमा सम्पन्न फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले हराउँदै ध्रुवताराले उपाधि जितेको हो ।
खेलको १६ औं मिनेटमा झापाका गौरव धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको २१ मिनेटपछि अर्थात खेलको ३७ औंं मिनेटमा प्रविण राईले अर्को गोल गर्दै ध्रुवतारालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
दोस्रो हाफको ५० औं मिनेटमा सिरहाका बिनु आले मगरले गोल गर्दै खेल २–१ मा फर्काएका थिए । तर त्यसको ५ मिनेटपछि झापाका गौरव धिमालले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को अग्रता दिलाए ।
यस्तै खेलमा अतिरिक्त समयमा सिरहामा बिधान लामाले गोल फर्काए पनि टिमलाई जिताउन सकेनन् । फाइनल खेलमा दुई गोल गरेका ध्रुवताराका गौरव धिमाल खेलको म्यान अफ द फाइनल घोषित भए ।
उपाधिसँगै झापाले २ लाख ११ हजार रुपैयाँ र उपबिजेता सिरहाले १ लाख ११ हजार रुपैयाँमा पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगिातको उत्कष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मिड फिल्डर सिरहाका सुजन पुलामी, डिफेन्समा गोलबजारका मुकेस माझी, बेस्ट फरवार्ड झापाका प्रविण राई, उत्कृष्ट कोचमा झापाका सन्दिप मगर घोषित भए । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापाका प्रविण राई घोषित भए ।