काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य किरण चेम्जोङले घरेलु लिग खेल्ने ईच्छा ब्यक्त गरेका छन् । भर्खरै माल्दिभ्समा व्यवसायीक फुटबल खेलेर नेपाल फर्किएका किरणले घरेलु फुटबलमा पल्सर सहिद स्मारक ए डिभिजन लिग खेल्ने इच्छा रहेको बताए ।
माल्दिभ्समा ब्यवसायीक फुटबल करियर अघि बढाईरहेको किरण यतिबेला बिदा मनाउन नेपाल आएका छन् । उनी अहिले २ महिनाको छुट्टीमा छन् ।
घरेलु फुटबलमा लामो समय लिग स्थगित हुदाँ उनी फुटबल खेल्न माल्दिभ्स गएका थिए ।
‘पाँच वर्षपछि नेपालमा भएको लिग खेल्न मन छ ।’ उनले भने । उनले आफु नेपाल आएपछि कुनै क्लबसंग सम्पर्कमा नभएकाले घरेलु फुटबल खेल्ने नखेल्ने बिषय टुङ्गो लागिनसकेको बताए ।
‘भखरै आएको छु । कुनै क्लबसँग कुरा गरेको छैन । मिल्यो भने खेल्छु ।’ उनले थपे ।
माल्दिभ्सको धिबेही प्रिमियर लिगमा टिसी स्पोर्टसलाई लिग च्याम्पियन बनाएर नेपाल फर्किएका किरण यतिबेला परिवारसंग काठमाडौंमा बसिरहेका छन् । उनी भर्खरै माल्दिभ्स फुटबलको बर्ष गोलकिपरको मनोनयनमा समेत परेका छन् । उनी राष्ट्रिय फुटबल टिमका एक नम्बरका गोलकिपर हुन् ।