काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई जितका लागि ३ सय ११ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।
एकदिवसीयमा नेपालविरुद्ध कुनैपनि टोलीले बनाएको यो सर्वाधिक ठुलो योगफल हो । यस अघि नेपालविरुद्ध पीएनजीले २ सय ९२ रन बनाएको थियो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो ।
युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए ।
यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले ।
रोहन मुस्तफा २० रनमा आउट भए । सिपि रिजवान ७, आर्यन लाक्रा ६ र आयन अफजल खान ३ रनमा आउट भए ।
नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ लिए ।
२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनामा रहेको छ ।
लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग टू अन्त्य गर्दै जिम्बावेको टिकट काट्नेछ ।
यता समान खेलबाट ३३ अंक जोडेको युएई छैटौं स्थानमा छ । लिग टू मा स्कटल्याण्ड शिर्ष स्थानमा रहदै र ओमान दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन् ।
अब शीर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा रहेको छ ।
आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहान्छ । यदी आजको खेलमा पराजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।